४.९ प्रदुषण र जलवायु परिवर्तनको असर
वातावरण संरक्षण ऐन २०५३ ले वातावरण भन्नाले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरु, आर्थिक तथा मानवीय क्रियाकलापहरु र यिनका अवयवहरु तथा ती अवयवहरु बीचको अन्तरक्रिया तथा अन्तरसम्वन्ध सम्झनु पर्दछ भनी उल्लेख गरेको छ । वातावरणमा ह्रास ल्याउने दुई प्रमुख प्रक्रिया हुन् : प्रदुषण र जलवायु परिवर्तन । प्रदुषण आफैमा नकारात्मक शब्द हो । वातावरणका आधारभूत तत्वमा रहने मौलिक गुणहरुमा आउने भौतिक, रसायनिक तथा जैविक परिवर्तन भएको अवस्था नै प्रदुषण हो । वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले परिवर्तन गरी वातावरणमा उल्लेखनीय क्षति पुर्याउने, वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानी नोक्सानी पुर्याउने क्रियाकलाप नै प्रदुषण हो ।
प्रदूषणका कारक
प्रदुषणका कारणहरुलाई मूलत प्राकृतिक कारण र मानव सृजित कारण गरी दुई भागमा वर्गिकरण गरिन्छ । विविध मानवीय क्रियाकलापहरुमा जनसंख्या वृद्धि, शहरीकरण, औधोगिकरण, युद्ध, रसायनिक तथा आणविक हातहतियारको प्रयोग, बनविनाशले वातावरणीय ह्रासमा थप टेवा पुर्याउँदछन् । प्राकृतिक कारणहरुमा ज्वालामुखी, बाढी पहिरो, भूक्षय, भूकम्प पर्दछन् । मानवीय कारणहरु दिनानुदिन बढदो चुनौतिको रुपमा विश्व समुदाय समक्ष प्रकट भएका छन् ।
सन् २०१९ को मध्य सम्ममा विश्वका विभिन्न शहरहरुको प्रदुषण सूचक सूचीले घानाको आँकडामा सबैभन्दा प्रदुषित शहर रहेको र काठमाडौं पाँचौं बढी प्रदुषित शहरको रुपमा देखाएको छ । सबैभन्दा सफा सहर नर्वेको ट्रोनडेभ रहेको प्रतिवेदनमा उल्लेख छ । काठमाडौंमा देखिएको हालको प्रदुषण स्तरलाई अव्यवस्थित सडक निर्माण, पुराना सवारी साधनको प्रयोग र कमजोर फोहोरमैला व्यवस्थापनले थप मलजल गरेको पाइन्छ ।
जलवायु परिवर्तन
कुनै खास स्थानको लामो समयको (कम्तीमा ३० वर्षको) औसत मौसमी अवस्था नै जलवायु हो । जलवायु परिवर्तनलाई वातावरण सम्वन्धि समस्याहरुको जननी समस्या भनिन्छ । कारण जलवायु परिवर्तनले पृथ्वीको औसत तापमान लगायत जैविक पक्षलाई नराम्रोसँग असर पु¥याइरहेको हुन्छ । जलवायु परिवर्तनका प्रभावहरु कृषि, स्वास्थ्य, वनजंगल, अर्थतन्त्र, हिमाली पर्यावरण देखि समुन्द्री पर्यावरण सम्ममा देख्न र अनुभव गर्न सकिन्छ । बढ्दो विश्व तापमान, अम्लिय वर्षा, खडेरी, अन्नवालीको उब्जनीमा ¥हास, बेमौसममा वनस्पती फुल्ने, अनौठा किरा–फटयाङग्राको उत्पती, पग्लिदो हिमाल र बढदो समुन्द्री सतह जस्ता घटनाहरु जलवायु परिवर्तनका साक्षी हुन् । स्मरणीय छ, औधोगिक एंव विकसित मुलुकहरुको आर्थिक बृद्धि तथा विलासी जीवनशैलीको शिकार जलवायु परिवर्तनको माध्यमबाट हामीले भोग्नु परेको छ ।
जोखिममा नेपाल
नेपाल पर्वतीय मुलुक हो, जहाँ सयौं हिमनदी, हिमताल र हिमश्रृखंला रहेका छन् । नेपालको अर्थतन्त्र कृषि, जलविद्युत, पर्यटन र जैविक विविधतामा आश्रित छ । जलवायु परिवर्तनका प्रत्यक्ष असर उपरोक्त क्षेत्रमा सजिलै र छिट्टै अनुभव गर्न सकिन्छ । जलवायु परिवर्तनका असर र प्रभावसँग जुध्न नेपालसँग यथेष्ट प्राविधिक तथा आर्थिक स्रोत साधन छैन । अनुकुलनका कार्यक्रमहरुलाई प्रभावकारी तवरले संचालन गर्न जनचेतनाको अभाव स्पष्ट देखिन्छ । भौगोलिक हिसावले नेपालको अवस्थिति विश्वका दुई ठूला अर्थतन्त्र बोकेका राष्ट्रसँग रहेको छ । औधोगिकरण र आर्थिक गतिविधि ती मुलुकमा दिनानुदिन बढ्दो छ । नेपाल प्राकृतिक जैविक विविधतामा धनी मुलुक हो । यहाँ ११८ थरीका पर्यावरण पाइन्छन् । नेपाल जलवायु परिवर्तनको जोखिमको दृष्टिले चौथौ, भूकम्पकिय जोखिममा एधारौं, बहुपक्षीय प्रकोपको दृष्टिले विसौं र भूक्षय तथा बाढी पहिरोको जोखिममा विश्वकै तिसौं अग्रणी स्थानमा पर्दछ । जलवायु परिवर्तनको असरहरु विकासोन्मुख, भूपरिवेष्ठित, हिमाली एवं तटीय मुलुकहरुमा बढि देखा पर्दछन् ।
समाधानका उपाय
जलवायु परिवर्तन समस्या समाधान गर्ने प्रमुख दुई उपायहरुमा न्यूनीकरण र अनुकूलन मोडललाई लिने गरिन्छ । न्यूनीकरण अन्तर्गत हरित गृह ग्यासको उत्र्सजनमा व्यापक कटौटी गर्दै वायुमण्डलमा वायु प्रदुषणको मात्रा घटाउने तर्फ जोड दिइन्छ । यो विधि रोकथान मुलक हो । जलवायु परिवर्तनका असर र प्रभाव सँग घुलमिल हुने गरी मानविय क्रियाकलाप अँगाल्ने, सोही बमोजिमको अनुकूलित वातावरण सिर्जना गर्नु नै अनुकुलन विधि हो । यस अन्र्तगत बहु बाली विधि, तापक्रम वृद्धि, अनुकुलनको खेतीगर्ने, नश्ल सुधार गर्ने, वर्षातको पानी भण्डारण गर्ने, प्रकोप प्रतिरोधी भवन निर्माण गर्ने, स्थानीय अनुभव र जनसहभागीतालाई प्राथमिकता दिने आदि पर्दछन् ।
जलवायु परिवर्तनसँग जुध्नका लागि जनचेतनाको ठूलो महत्व र आवश्यकता पर्दछ । जनचेतनामार्फत् साझा जनसहभागिताको बोध दिलाउन सकिन्छ । सन् २०१६ मा नेपालमा जलवायु परिवर्तनको असर सम्वन्धि केन्द्रीय तथ्यांक विभागबाट प्रकाशित गरिएको एक राष्ट्रिय सर्भेमा देशभरीका ५,०६० घरधुरीलाई विभिन्न प्रश्न गरिएकोमा ५०.६ प्रतिशत मानिसलाई जलवायु परिवर्तन सम्वन्धी कुनै ज्ञान नभएको, प्रत्येक १० जना मध्ये ९ जनाले मनसुन कमजोर हुँदै गएकोे, ८९ प्रतिशत ले गर्मी बढेको, ८४ प्रतिशत ले पानीका मुहानहरु सुक्दै गएको गुनासो गरेको थिए । यसबाट प्रष्ट हुन्छ की जनताले जलवायु परिवर्तनका असरहरु भोगेका छन् तर के कारणले सो हुन गएको हो उनीहरुलाई त्यसबारेमा चेतना कम रहेको छ ।
वातावरणीय ह्रासको न्यूनीकरण
वातावरणीय ह्रासको जड कारण अदुरदर्शी मानवीय क्रियाकलाप हुन् । विकास हर सम्भव सकारात्मक दिशा तर्फको परिवर्तन हुनु पर्दछ । विकास सुखद् हुनुपर्दछ, विकासले विनास निम्त्याउनु हुँदैन । विकास विवेकमा आधारित दिगो प्रकृतिको भई समग्र सजिव जातिको अस्तित्वमा प्रतिकुलता सृजना नगर्ने हुनुपर्दछ । विश्वका साझा तत्वका रुपमा वातावरण –वायुमण्डल र समुन्द्रलाई लिइन्छ । अतः वातावरण सर्वपक्षिय सरोकार र चासोको विषय हो । वातावरणको संरक्षण र सम्वर्दनका लागि भौगोलिक सिमानाका धर्साहरु, राजनीतिक रंगका धुर्वीकरणहरु, धनी गरीव बीचको खाडलको गहिराईबाट हेरिनु हुँदैन बरु सम्पूर्ण राष्ट्रहरु एउटै मञ्चमा उभिई साझा कर्तव्य र जिम्मेवारी बोध गर्नुको विकल्प छैन ।
प्रायः जसो सबैको सरोकारको विषय कसैको चासोको विषय नबन्ने हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै तवरबाट वातावरण संरक्षण सम्बद्ध क्रियाकलापमा विशेष ध्यान पु¥याउन आवश्यक छ । अन्तर्राष्ट्रिय अभिसन्धी अनुकुल हुने गरी राष्ट्रिय कानूनको निर्माण र त्यस्ता कानूनको कडाइका साथ परिपालना गर्नु÷गराउनु सक्नु पर्दछ । वातावरण संरक्षकको विषयमा प्रदुषकले तिर्नुपर्ने (पोलुटर्स पे) अवधारणा, कार्वन व्यापारमा साना मुलुकहरुको सम्मानजनक स्थानलाई व्यवहारमा उतार्न सक्नुपर्दछ ।
अन्तर्राष्ट्रिय तवरमा विकसित राष्ट्रहरुको इमान्दारिता र विवेकशिलता, साना तथा अल्पविकसित मुलुकहरुको निरन्तर दवाव सिर्जना गर्न सक्ने क्षमता, संयुक्त राष्ट्र संघ अन्तर्गत संचालित कार्यक्रमहरुको प्रभावकारीता एवं प्रत्येक नागरिकमा सचेतनाको संयोजनबाट नै हामी बस्ने धर्ती हामी कालान्तर सम्म बचाई राख्न सक्ने छौं ।