४.५ नेपालमा वन विनास हुनुका कारण र असरहरु
रुख, विरुवा एवं वनस्पतिको हानि नोक्सानी हुने कार्य वन विनास हो । नेपालमा वन विनास मूलतः प्राकृतिक एवं मानवीय कारणले हुने गरेको पाइन्छ । वन अतिक्रमण, अवैध वन कटानी, नदी कटान, भू–क्षय, वन डढेलो, अनियन्त्रित चरिचरण, अनियन्त्रित ढुङ्गा गिटी बालुवा सङ्कलन एवं निकासी, जनचेतनाको अभाव आदिजस्ता कारणले नेपालमा वन विनास हुने गरेको छ । नेपालमा वन विनास हुनुका अरू कारण निम्न छन् ः
– ग्रामीण क्षेत्रमा ऊर्जाको रूपमा काठ, दाउराको प्रयोग हुनु,
– भौतिक पूर्वाधार विकासमा वन क्षेत्रको प्रयोग हुनु,
– वन विनास रोक्न गरिने सुरक्षात्मक, संरक्षणात्मक तथा प्रवद्र्धनात्मक कार्य प्रभावकारी हुन नसक्नु,
– थप वृक्षारोपण गर्ने एवं वनको जगेर्ना गर्ने कार्य सुदृढ हुन नसक्नु,
– वन संरक्षणका कार्यक्रम व्यवस्थित हुन नसक्नु,
– वनको समग्र विकासमा सरोकारवालाको सक्रिय सहभागिता हुन नसक्नु,
– जङ्गलका पुराना रुख हटाएर नयाँ विरुवा लगाउने कार्य प्रभावकारी हुन नसक्नु,
– तराईलगायतका क्षेत्रमा काठको चोरी तस्करी बढ्नु ।
वन विनासबाट पर्ने असरहरू
– यस पृथ्वीमा भएका सारा प्राणी जगत्लाई आवश्यक पर्ने स्वच्छ हावा तथा पानीको स्रोत वन हो । मानिसले खाने वस्तुदेखि त्यसलाई पचाउने तथा बिरामी हुँदा बचाउनेसम्मका सम्पूर्ण वस्तुको स्रोत वन हो । जब वनमा हानि नोक्सानी एवं क्षति हुन्छ भने वनबाट प्राप्त हुने यी सबै वस्तुमा असर पर्ने नै भयो । वन विनासबाट बहुआयामिक असर पर्छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
– जलवायुु परिवर्तन, तापक्रममा वृद्धि, हिमालमा हिउँ पग्लने क्रममा वृद्धि, मौसममा अस्वाभाविक परिवर्तन,
– मूल्यवान जडीबुटीको हानि नोक्सानी,
– वन्यजन्तुको संरक्षणमा अवरोध,
– वनको अध्ययन तथा अनुसन्धानमा समस्या,
– पर्यटन विकासमा अवरोध,
– जैविक विविधतामा ह्रास,
– जथाभावी वन फडानीले वनस्पतिमा आधारित औषधि उद्योगमा समस्या,
– पारिस्थितिकीय प्रणालीमा असन्तुलन,
– भू–क्षयको प्रकोप ।
अन्तमा, वन सबैको साझा सम्पत्ति हो । यसको जगेर्ना गर्नु सबैको कर्तव्य हो । वनको महŒव वारेमा जनचेतना अभिवृद्धि गरी पुराना रुख हटाउँदै, कटाउँदै नयाँ विरुवा रोप्दै वनको संरक्षण गर्नुपर्छ । वनको नियमनमा बढी जोड दिनुपर्छ । हरियो वन नेपालको धन, यसलाई सबैले बुझ्नु बुझाउनुपर्छ ।