2.4 मानवअधिकार : अवधारणा र वर्गीकरण
✍ ललितकुमार बस्नेत , prashashan.com
अवधारणा :
– मानिस भएर जन्मेको कारणले विश्वको जुनसुकै पनि मानिसलाई स्वतः प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । यस अन्तर्गत त्यस्ता अधिकारहरु पर्दछन् जुन अधिकारहरु विश्वभरीका सबै मानिसहरुमा जाति, भाषा, धर्म, रंग, लिंग, राष्ट्रियता (नागरिकता), उत्पति, सामाजिक र आर्थिक स्थिति, राष्ट्रिय सिमाना आदिको भेदभाव विना निहित रहन्छ र यिनीहरुको सृजना अन्तराष्ट्रिय कानूनद्वारा हुन्छ ।
– मानवलाई न्यूनतम मानवीय मर्यादा सहित हुर्कन, बाँच्न र जीवनयापन गर्नको लागि आवश्यक अधिकारहरुको समष्टिलाई मानव अधिकार भनिन्छ । यस्ता अधिकारहरुको अभावमा मानव मानवको रुपमा बाँच्न मुश्किल पर्दछ । यो अधिकार धनी, गरीब, ठूला, साना, काला, गोरा, महिला, पुरुष, बालक, बृद्ध सबैलाई उत्तिकै आवश्यक हुन्छ ।
– सर्व प्रथम सन् १९४८ मा संयुक्त राष्ट्र संघको प्रयासमा विश्वव्यापी मानव अधिकार सम्बन्धी घोषणा पत्र जारी भएको थियो । यसको अलावा अन्य विभिन्न महासन्धि निर्माण भइरहेका छन् ।
– राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ अनुसार, “मानव अधिकार भन्नाले व्यक्तिको जीवन, स्वतन्त्रता, समानता र मर्यादासँग सम्बन्धित संविधान तथा अन्य प्रचलित कानूनद्वारा प्रदान गरिएका अधिकारलाई संझनुपर्छ र सो शब्दले नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी अन्तराष्ट्रिय स सन्धिमा निहित अधिकार समेतलाई जनाउँछ । ”
– म्यारी रोविन्सनका अनुसार, ”ह्युमन राइट्स आर इनसस्क्राइब्ड इन् द हर्टस् अफ् पिप्ल, दे वयर दियर लङ्ग बिफोर ल मेकर्स ड्राफ्टेड दिय फर्स्ट प्रोक्लेमेशन”
मानव अधिकारको वर्गीकरण
सामान्यतः मानव अधिकारलाई निम्न अनुसार वर्गीकरण गरिएको पाइन्छ । यद्यपि कुनै एक प्रकारको अधिकार मात्र मानव अधिकार होइन, सबै अधिकारको पूर्णता मानव अधिकार हो ।
१) नागरिक तथा राजनैतिक अधिकार :यसलाई पहिलो पुस्ताको अधिकारको रुपमा लिने गरिन्छ । मानिसका प्राकृतिक अधिकारहरुलाई यस अन्तर्गत समावेश गरिएको छ । मानव अधिकारको विश्वव्यापी घोषणपत्र, १९४८ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अभिसन्धी, १९६६ ले यी अधिकारहरुको प्रत्याभूति गरेका छन् । यस अधिकारलाई निम्न दुई भागमा राखेर हेर्न सकिन्छ :
क) नागरिक अधिकार : जीवनको स्वतन्त्रता र वैयक्तिक सुरक्षाको अधिकार, भौतिक आक्रमण विरुद्धको अधिकार, गैर कानूनी थुना तथा देश निकाला र दासत्व विरुद्धको अधिकार, विचार र अन्तष्करणको अधिकार आदि अधिकारलाई यस अन्तर्गत राख्न सकिन्छ ।
ख) राजनीतिक अधिकार : अभिव्यक्ति स्वतन्त्रता, संगठन तथा शान्तिपूर्वक भेला हुन पाउने अधिकार, मतदान गर्न पाउने अधिकार एवं शासन गर्न पाउने अधिकार आदि जस्ता अधिकारहरु यस अन्तर्गत पर्दछन् ।
२) आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार : यी अधिकारहरुलाई दोस्रो पुस्ताको अधिकारको रुपमा लिने गरिन्छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ र आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अभिसन्धी, १९६६ ले यिनको संरक्षणमा जोड दिएको छ । यी अधिकारलाई पनि आर्थिक तथा सामजिक अधिकार र साँस्कृतिक अधिकार गरी दुई भागमा बाँड्न सकिन्छ :
क) आर्थिक तथा सामाजिक अधिकार : सम्पति, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षाको अधिकार यसमा पर्दछन् ।
ख) साँस्कृतिक अधिकार : साँस्कृतिक जीवनमा सहभागी हुन पाउने अधिकार, वैज्ञानिक खोजको अधिकार, साहित्य कला सम्बन्धी अधिकारहरु यसमा पर्दछन् ।
ग) सम्बन्धको अधिकार : यस अन्तर्गत संगठित हुने अधिकार, संघ संस्था खोल्ने अधिकार, सामुदायिक सम्बन्धको अधिकार, शान्तिपूर्ण जीवन व्यतीत गर्ने अधिकार, स्वच्छ वातावरणमा बस्न पाउने अधिकार पर्दछन् । यी अधिकारलाई तेस्रो पुस्ताको अधिकार को रुपमा लिने गरिन्छ ।
विश्वमा मानव अधिकारको अवधारणाको उत्पति र विकास :
- हामी मानव अधिकार र न्याय कसैलाई बेच्ने छैनौं, कसैलाई इन्कार गर्ने छैनौं र कसैलाई ढिला गर्ने छैनौं भन्ने मूल उद्घोष रहेको सन् १२१५ को म्याग्नाकार्टा आधार स्तम्भको रुपमा रहेको ।
- सन् १६२८ को ‘अवार्ड कोक’को अधिकारपत्र जसले कुनै पनि व्यक्तिलाई मनोमानी गिरफ्तार गर्न नपाउने र शान्तिको समयमा सैनिक प्रयोग गर्न नपाउने व्यवस्था गर्दै नागरिक स्वतन्त्रतामा जोड दिएको थियो ।
- सन् १६८८ को गौरवमय क्रान्ति जसले बेलायतमा राजा र जनताका प्रतिनिधिबीच सम्झौता गराई कानूनको अगाडि समानता र कानूनको सर्वोच्चता, सम्पति सम्बन्धी स्वतन्त्रता लगायत कुनै पनि व्यक्तिलाई क्रुर र अमानवीय रुपमा यातना दिन नपाउने अधिकारको घोषणा गर्यो, जसलाई ‘बिल अफ राइट्स’ भनिन्छ ।
- अमेरिकी स्वतन्त्रता संग्रामको बेला सन् १७७६ मा जीवन, स्वतन्त्रता र सुखको खोजी गर्ने अधिकारलाई मानवबाट अलग गर्न नसकिने कुरा स्वीकार गरिएको ।
- फ्रान्सेली राज्यक्राति पश्चात जारी भएको मानव तथा नागरिकहरुको अधिकार सम्बन्धी घोषणा १७८९ ले जनताका अधिकारलाई सर्वोच्च रुपमा स्वीकार गर्यो ।
- सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना पछि मानव अधिकारको संस्थागत विकास भएको पाइन्छ ।
- संयुक्त राष्ट्रसंघकै पहलमा सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणा (यूनिभर्सल डिक्लेरेसन अफ ह्युमन राइट्स) जारी गरियो ।
- नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध, १९६६ र आर्थिक सामाजिक, साँस्कृतिक अधिकार सम्बन्धी अनुबन्ध, १९६६ जारी गरिएको छ ।
- सन् १९४६ मा नै संयुक्त राष्ट्रसंघको प्रमुख अंग आर्थिक तथा सामाजिक परिषदबाट मानव अधिकार आयोग स्थापना भई क्रियाशील रहेको छ ।
- दासत्व विरुद्धको अधिकार, यातना विरुद्धको अधिकार (सिएटी), महिला विरुद्ध हुने भेदभाव विरुद्धको अधिकार (सिड), मानिसको बेचविखन विरुद्धको अधिकार, बालअधिकार (सीआरसी) लगायत विभिन्न अधिकारहरुको संरक्षणका लागि बाध्यात्मक अभिसन्धीहरु जारी गरिएको छ ।
- राज्य संयन्त्रवाट हुन सक्ने मानवता विरुद्वका अपराध नियन्त्रणको लागि सन् १९९८ मा रोम विधान अनुसार अन्तर्राष्ट्रिय फौजदारी अदालत स्थापना भई सन् २००२ देखि यसको विधान लागू भएको छ ।