विदेशी मुद्रा आम्दानीमा रेमिट्यान्सको योगदान ६७ प्रतिशत

मुलुकको विदेशी मुद्रा सञ्चितिमा रेमिट्यान्सको योगदान करिब ६७ प्रतिशत देखिएको छ । गत आर्थिक वर्षमा विभिन्न स्रोतबाट भित्रिएको विदेशी मुद्रामध्ये सबैभन्दा धेरै ६६.९ प्रतिशत रेमिट्यान्सबाट नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षमा ६७.४ प्रतिशत थियो ।

विदेशी मुद्रा आम्दानीमा रेमिट्यान्सको योगदान ६७ प्रतिशत

विदेशी मुद्राको स्रोत सम्बन्धमा पछिल्ला पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा उक्त अवधिमा रेमिट्यान्सको योगदान औसतमा ६० प्रतिशतभन्दा बढी नै देखिन्छ । पछिल्ला वर्षमा विदेशी मुद्रा सञ्चितिमा रेमिट्यान्सको योगदान उच्च दरले बढिरहेको छ । विदेशी मुद्राका अन्य स्रोत निर्यात, पर्यटन (सेवा), विदेशी ऋण तथा अनुदानलगायत क्षेत्र अपेक्षित रूपमा सुधार हुन नसक्दा रेमिट्यान्समै बढी आश्रित हुनुपर्ने बाध्यता रहेको अर्थविद्हरू बताउँछन् । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा विभिन्न स्रोतबाट भित्रिएको विदेशी मुद्रामध्ये रेमिट्यान्सपछि धेरै योगदान वस्तु निर्यातमार्फत भएको देखिन्छ ।

विदेशी ऋण, अनुदान र कूटनीतिक नियोगमार्फत १०.३ प्रतिशत, वस्तु निर्यातमार्फत विदेशी मुद्रा सञ्चितिमा ५.२ प्रतिशत, पर्यटनमार्फत ३.६ प्रतिशत, राष्ट्र बैंकमार्फत विदेशमा गरेको लगानीको ब्याजमार्फत २.१ प्रतिशत र अन्य प्रयोजनमार्फत ११.९ प्रतिशत योगदान पुगेको देखिन्छ ।

पछिल्लो पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा पनि विदेशी मुद्राको मुख्य स्रोतमा सबैभन्दा अघि रेमिट्यान्स नै छ । त्यसपछि विदेशी ऋण र अनुदानले औसत ११, पर्यटनलगायत सेवा क्षेत्रले १०.२ र वस्तु निर्यातले औसत ७.१ प्रतिशत योगदान पुर्‍याएको देखिन्छ । जबकि विदेशी मुद्रा उपयोग स्थिति हेर्दा आयातमा करिब ८३, पर्यटनमा ९ र अन्य प्रयोजनका लागि बाँकी ८ प्रतिशत हिस्सा छ । नेपालको कुल विदेशी मुद्रा (विनिमय) सञ्चितिमा रेमिट्यान्सको योगदान धेरै रहेको र पछिल्ला वर्षमा रेमिट्यान्समाथि अर्थतन्त्रको परनिर्भरता बढ्दै गएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘अहिले हाम्रो अर्थतन्त्र रेमिट्यान्समुखी भएको छ । दीर्घकालका लागि रेमिट्यान्समा बढी निर्भरता राम्रो होइन । यस्तो परनिर्भरता कम गर्न मुलुकलाई प्राप्त विदेशी मुद्रा उत्पादनमूलक क्षेत्र, पूर्वाधार विकास, उच्च प्रतिफल दिने आयोजनामा उपयोग गर्नुपर्छ र निर्यात बढाउनुपर्छ,’ उनले भने ।

गत असोजमा मुलुकको विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । गत असारमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो । तीन महिनामा कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा असोज मसान्तमा ५.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १४ खर्ब ३३ अर्ब ३६ करोड रुपैयाँ बराबर छ ।

बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ बराबर छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ । गत असोजसम्म मुलुकमा रहेको विदेशी मुद्रा सञ्चितिले १०.३ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ ।

रेमिट्यान्स बढेको बढ्यै

चालु आर्थिक वर्षको असोजमा मात्रै १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा हेर्दा यो हालसम्मकै उच्च हो । यसअघि गत साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । भदौमा १ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज) मा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसरी हेर्दा चालु आर्थिक वर्षको तीन महिनामा नेपाल भित्रिएको रेमिट्यान्स सोही अवधिमा थपिएको कुल विदेशी मुद्रा सञ्चितिभन्दा धेरै छ । यसले पनि कुल विदेशी मुद्रा सञ्चितिमा रेमिट्यान्सको योगदान उच्च रहेको पुष्टि हुन्छ ।

गत आर्थिक वर्ष हरेक महिनाजसो रेमिट्यान्स आप्रवाह बढेको थियो । तर, अघिल्लो आर्थिक वर्षमा अपेक्षित रूपमा बढ्न सकेको थिएन । यद्यपि चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स उच्च दरले बढिरहेको छ । दसैं र तिहारभन्दा अघिल्ला महिनामा रेमिट्यान्स बढ्ने गरेको छ । यस वर्षको दसैं र तिहार कात्तिकमा परेकाले असोजमा ठूलो परिमाणमा रेमिट्यान्स भित्रिएको अनुमान गरिएको छ ।

यद्यपि, पछिल्ला हरेक महिनामा रेमिट्यान्स आप्रवाहमा वृद्धि देखिएको छ । गत वर्षको असोजमा रेमिट्यान्स आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने चालु आर्थिक वर्षको तीन महिनामा २ अर्ब ७६ करोड रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २५.९ प्रतिशत बढी हो । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

पछिल्ला महिनामा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएसँगै अर्थतन्त्रका बाह्य सूचक झनै बलियो बन्दै गएको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ । निर्यात, पर्यटन, विदेशी सहयोग, अनुदान, ऋणलगायत विदेशी मुद्राका अन्य स्रोत प्रभावकारी बन्न नसकिरहेका बेला लगातार रेमिट्यान्समा वृद्धि हुँदा अर्थतन्त्रका बाह्य सूचकमा भने सुधार भएको प्रतिवेदनले देखाएको हो । गत आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स उच्च दरले बढिरहेको थियो । मासिक रूपमा हेर्दा गत आर्थिक वर्षका १२ महिनामध्ये गत मंसिरदेखि साउनसम्म (नौ महिना) हरेक महिना १ खर्ब रुपैयाँभन्दा बढी

रेमिट्यान्स नेपाल भित्रिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउनमा ९२.२ अर्ब, भदौमा ९४.८ अर्ब, असोजमा ९४ अर्ब, कात्तिकमा ९७ अर्ब, मंसिरमा १ खर्ब २ अर्ब ५० करोड, पुसमा १ खर्ब ४ अर्ब ६० करोड, माघमा १ खर्ब ४ अर्ब ८० करोड, फागुनमा १ खर्ब ४ अर्ब ४० करोड, चैतमा १ खर्ब ९ अर्ब १० करोड, वैशाखमा १ खर्ब १ अर्ब, जेठमा १ खर्ब ७ अर्ब र असारमा १ खर्ब ८ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

SHARE

0 Comments

Leave a Reply