६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छ : अर्थमन्त्री

१३ पुस, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको उनको भनाइ छ । उनले भने, ‘अहिले मूल्यवृद्धि पनि साढे ५ प्रतिशतमा झरेको छ । जसका कारण आर्थिक वृद्धिको ६ प्रतिशतको लक्ष्य पनि प्राप्त गर्ने सम्भावना देखिएको छ ।’

उनले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गरे । सामाजिक सञ्जालमा नकारात्मक कुरा भएपनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो ।


हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको तर्क समेत उनले गरे ।अर्थमन्त्री महतले तथ्यहरुलाई लिएर सकारात्मक छलफललाई अघि बढाउने हो भने मुलुकको आर्थिक गतिविधिले अझ बढवा पाउने विश्वास समेत व्यक्त गरे ।

‘अहिले हाम्रो अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ । विदेशी रेमिट्यान्स पनि स्वदेशमा आइरहेको छ । बैंक ब्याजदर पनि धेरै छलफलपछि कम हुँदैछ । सेयर मार्केट पनि बढेको छ । जग्गाको कारोबार पनि बढेको छ । अत्याधिक अवस्थामा सेयर र जग्गामा अत्यधिक कारोबार हुँदाखेरी माग आपूर्तिको बीचमा ठूलो असन्तुलन भयो । त्यसले गर्दा त्यहाँ शिथिलता आएको थियो । अब बिस्तारै पनि लय पक्रिँदै छ । र, राजस्व पनि बिस्तारै बढ्न थालेको छ,’ अर्थमन्त्री महतले भने ।

‘सामाजिक सञ्जाल पब्लिक स्पेसमा नेगेटिभ कुरा चाहिँ नेपालमा धेरै बिक्छ । नेगेटिभ कुरा गर्‍यो भने त्यसमा लाइक, फलोअर्स पनि बढिहाल्छ । अब अरु क्रियटिभ कुरा, पोजेटिभ कुराहरुलाई सहजै विश्वास गरिँदैन । त्यसकारण अब यो कुरा जो तथ्य सामुन्ने छ । त्यसको आधारमा छलफल चलाउने हो भने सकारात्मक माहोल बन्छ । र, आत्मविश्वास बढ्छ । आत्मविश्वास बढेको अवस्थामा अर्थतन्त्रले अझ बढी पिकअप लिन्छ भन्ने मलाई लागेको छ,’ उनले भने ।

SHARE

0 Comments

Leave a Reply