कुल गार्हस्थ उत्पादनमा लुम्बिनी प्रदेशको हिस्सा १४.२ प्रतिशत

लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादनमा १४.२ प्रतिशत हिस्सा हुने अनुमान रहेको एक अध्ययनले देखाएको छ । गत आवमा लुम्बिनीको कुल गार्हस्थ उत्पादनको १४.१ प्रतिशत हिस्सा रहेको थियो ।

नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर कार्यालयद्वारा प्रकाशित आव २०७९/८० मा आधारित प्रादेशिक आर्थिक गतिविधि अध्ययन लुम्बिनी प्रदेश अर्धवार्षिक प्रतिवेदनका अनुसार आव २०७९/८० मा यस प्रदेशको आर्थिक वृद्धि २.०६ प्रतिशत रहने अनुमान रहेको छ । गत आवमा ५.०३ प्रतिशत रहेको थियो ।

कृषि क्षेत्रमा ह्रास

समीक्षा अवधिमा लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल गत वर्षको सोही अवधिको तुलनामा ०.०८ प्रतिशतले ह्रास आएको छ । खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफलमध्ये मकै, गहुँ, फापर, आलु, भटमास र तेलहन बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ भने धान, कोदो, जौ, उखु र दलहनको क्षेत्रफलमा ह्रास आएको छ । समीक्षा अवधिमा लुम्बिनी प्रदेशमा पशुपन्छी उत्पादनमध्ये दुध उत्पादन ८.२८ प्रतिशत, मासु ११.६५ प्रतिशत र माछा उत्पादन ६.०५ प्रतिशतले ह्रास आएको छ । 

कृषि कर्जामा ११.९८ प्रतिशतले वृद्धि

समीक्षा अवधिमा कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा ११.९८ प्रतिशतले वृद्धि भई ५२ अर्ब ७६ करोड ८३ लाख रुपियाँ पुगेको छ भने कुल कर्जामा कृषि कर्जाको हिस्सा ९.६२ प्रतिशत रहेको छ ।

सेवा क्षेत्र सुधारोन्मुख

लुम्बिनी प्रदेशमा कोभिड–१९ को असहज परिस्थितिका कारण मारमा परेको पर्यटन क्षेत्र क्रमिक रूपमा सुधारोन्मुख रहेको छ भने होटलहरूको निर्माण कार्य बढेसँगै शय्या सङ्ख्याको वृद्धि तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकाले पर्यटकको आवागमनको अवस्था पनि विगतका वर्षको तुलनामा सुधार हुँदै गएको सो अध्ययनमा देखिएको छ ।

घरजग्गा रजिस्ट्रेसनमा ह्रास

समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेसन सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ३७.६२ प्रतिशतले ह्रास आई घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त हुने राजस्वसमेत गत वर्षको सोही अवधिको तुलनामा ८४.०७ प्रतिशतले न्यून भएको छ ।

पूर्वाधार क्षेत्रमा प्रगति

राष्ट्रिय गौरवका आयोजना अन्तर्गत लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा निर्माण भइरहेको बबई सिँचाइ आयोजनामा आव २०७९/८० मा विनियोजित बजेट एक अर्ब ५२ करोड ८४ लाखमध्ये २०७९ पुस मसान्तसम्म ४८ करोड १६ लाख खर्च भएको छ ।

बुटवल–पाल्पा सडकखण्डमा निर्माण हुन लागेको सिद्धबाबा सुरुङ मार्ग मिति २०७८/११/२५ मा ठेक्का सम्झौता भई निर्माण कार्य अगाडि बढेको अध्यननमा उल्लेख छ । 

- साभार - गोरखापत्र 

SHARE

0 Comments

Leave a Reply