सोह्रौँ योजनामा उत्पादन र रोजगारीलाई प्राथमिकता : उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको सोचका साथ सरकारले सोह्रौँ आवधिक योजना निर्माण गरिरहेको बताएका छन् । उनले सोह्रौँ आवधिक योजनामा उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखिने बताए ।

दिगो विकास तथा सुशासन समितिको बैठकमा बिहीबार उपाध्यक्ष श्रेष्ठले सोह्रौँ आवधिक योजनामा सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर योजना निर्माण गरिने बताए ।

'राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने, स्वास्थ्य शिक्षा रोजगारी र आवास लगायतका क्षेत्रमा सामाजिक न्याय स्थापित गर्ने र सामाजिक जीवन, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्ने अबको हाम्रो उद्देश्य हुनुपर्छ,' उनले भने ।

उपाध्यक्ष श्रेष्ठले सोह्रौँ योजनामा मूलरुपमा उत्पादन र रोजगारी बढाउने कुरा समेट्ने भन्दै त्यसका लागि सम्बन्धित मन्त्रालयहरुले के–के गर्ने हो भन्नेकुरा सम्बन्धित मन्त्रालयले नै गर्नुपर्ने बताए । उनले सामाजिक न्याय कायम नभएसम्म समृद्धि हासिल नहुने भन्दै सामाजिक न्याय कायम गर्नका लागि पनि सोह्रौँ योजनामा जोड दिइने बताए ।

उनले सोह्रौँ योजनालाई केन्द्रीय योजनामात्रै नबनाएर तीनै तहको राष्ट्रिय योजना बनाउनका लागि प्रदेश योजना आयोगहरु र प्रदेश सरकारहरुसँग पनि छलफल भइरहेको बताए ।


SHARE

0 Comments

Leave a Reply