नेपालको विशाल जितमा बनेका कीर्तिमान

नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सलाई २१४ रनले हराउँदा ५ वटा कीर्तिमान बनाएको छ । जितको लागि २२८ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमा अल आउट हुन पुग्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।नेपालकी पूर्वकप्तान रुविना क्षेत्रीले ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनको अविजित शतकीय इनिङ खेलिन् । पूजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन् । पाँचौं विकेटका लागि रुविना र पूजाले ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए ।

नेपालको जितमा बनेका प्रमुख कीर्तिमान

पाँचौं विकेटका लागि विश्व कीर्तिमानी साझेदारी

रुविना र पुजाले गरेको १६६ रनको साझेदारी पाँचौं विकेटलाई महिला टि२० आई विश्वकै सर्वाधिक ठूलो हो । यसअघि अष्ट्रेलियाका ग्रेसी हारिस र आश्लिघ गार्डनरले भारतविरुद्ध २०२२ मा पाँचौं विकेटका गरेको १२९ रनको साझेदारी तोडेका हुन् ।

त्यस्तै नेपालका लागि कुनै पनि विकेटका लागि उच्च साझेदारी हो । सीता र इन्दुले २०२१ मा कतारविरुद्ध दोस्रो विकेटका लागि गरेको ८८ रनको साझेदारी महिला टि२० आईमा कुनैपनि विकेटका लागि उच्च थियो ।

सर्वाधिक ठूलो जित

२१४ रन नेपालको महिला टी-२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि नेपालले २०२१ मा कतारविरुद्ध ११९ रनको जित हात पारेको थियो ।

शतक हान्ने रुविना पहिलो नेपाली महिला खेलाडी

रुविना नेपालको महिला क्रिकेट इतिहासमा कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो खेलाडी बनेकी छिन्  २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाएको नेपालको महिला क्रिकेट हालसम्म शतक विहीन थियो ।सीताले २०२१ मा कतारविरुद्ध बनाएको ८२ रन नै नेपाली ब्याटरको उच्च प्रदर्शन रहँदै आएको थियो ।

महिला टी–२० आईमा नेपालको उच्च योगफल

२२७ रन नेपाली महिला टी–२० आईमा एकै खेलमा बनेको उच्च योगफल हो । यसअघि २०२१ मा नेपालले कतारविरुद्ध १६४ रन बनाएको थियो ।

रुविनाको एकै खेलमा सर्वाधिक चौका र छक्का

रुविनाले शतक बनाउन १० चौका र ५ छक्का प्रहार गरिन् । यो नेपालबाट महिला टी–२० आईमा एकै जना ब्याटरले एउटा खेलमा प्रहार गरेका सर्वाधिक छक्का र चौका हो । यसअघि नेपालबाट सीताले कतारविरुद्ध २०२१ मा ७ चौका र ताञ्जानियाविरुद्ध २०२३ मा ४ छक्का हानेकी थिइन् ।

SHARE

0 Comments

Leave a Reply