नेपाल सरकार र प्रदेश सरकारले स्थानीय सरकारलाई सहयोग गर्नुपर्ने विषयहरू

नेपाल सरकार र प्रदेश सरकारले स्थानीय सरकारलाई सहयोग गर्नुपर्ने विषयहरू प्रचलित कानुनको व्यवस्थालाई विचार गर्दै उल्लेख गर्नुहोस् ।

नेपालको संविधानले तहगत सरकारका जिम्मेवारीहरू सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रही सम्पादन गर्नुपर्ने व्यवस्था गरेको छ । संविधानको धारा २३२ (८) मा नेपाल सरकारले आफैँ वा प्रदेश सरकारमार्फत गाउँ कार्यपालिका वा नगर कार्यपालिकालाई संविधान र सङ्घीय कानुनबमोजिम आवश्यक सहयोग गर्न र निर्देशन दिन सक्ने व्यवस्था छ । त्यस्तो निर्देशनको पालना गर्नु गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको कर्तव्य हुने भनी उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले नेपाल सरकार र प्रदेश सरकारले स्थानीय सरकारलाई  देहायका विषयमा सहयोग गर्नुपर्ने भनी उल्लेख  गरेको छ ः

गाउँपालिका तथा नगरपालिकाको वार्षिक योजना तथा बजेट तर्जुमा सुरु हुनुअगावै बजेट सीमा र राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता एवं मापदण्डसहितको मार्गदर्शन उपलब्ध गराउने,

स्थानीय तहको क्षेत्राधिकारमा पर्ने समानान्तर संरचना खारेज गरी गाउँपालिका र नगरपालिकाको विषयगत शाखाको क्षमता विकास गर्ने,

विषयगत मन्त्रालयले आफ्नो अधिकारक्षेत्र अन्तर्गतका आयोजनाहरू सञ्चालन गर्दा सम्बन्धित गाउँपालिका तथा नगरपालिकासँग समन्वय गर्ने,

नेपाल सरकार र प्रदेशसरकारको क्षेत्राधिकारमा पर्ने कुनै आयोजनामा लागत प्रभावकारिता र दिगोपनासमेत 

विचार गरी गाउँपालिका तथा नगरपालिकाबाट कार्यान्वयन गराउने र त्यसका लागि स्रोतसाधनको हस्तान्तरण गर्ने,

नेपाल सरकारले नमुना कानुनको ढाँचा निर्माण गरी स्थानीय कानुन निर्माणमा सहयोग गर्ने,

गाउँपालिका तथा नगरपालिकाको निर्णय कार्यान्वयनमा सहयोग गर्ने,

गाउँपालिका तथा नगरपालिकाको सशक्तीकरणका लागि आवश्यक प्राविधिक वा व्यवस्थापकीय सहयोग उपलब्ध गराउने, 

अतः संवैधानिक कार्य तथा जिम्मेवारीहरू प्रभावकारी रूपमा सम्पादन गरी नागरिकको नजिक सरकार पुगेको आभास दिलाउन सङ्घ र प्रदेश सरकारले माथि उल्लेख गरिएका कुरा इमानदारीपूर्वक कार्यान्वयन गर्नु पर्दछ ।

SHARE

0 Comments

Leave a Reply